जसपा नेपाल नवलपरासीले मनायाे बलिदानी दिवस
सुरेश यादव,परासी,माघ ०५
जनता समाजवादी पार्टी नेपाल पश्चिम नवलपरासीले आज बलिदानी दिवस मनाएकाे छ । विगतका मधेस आन्दाेलनमा भएका सहिदहरुकाे सम्झनामा हरेक वर्ष बलिदानी दिवस मनाउदै आएकाे जसपाले जनाएको छ ।
जसपा नेपाल नवलपरासीको अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा पृथ्वीचन्द्र अस्पतालका ३० जना बिरामीहरूलाई फलफुल वितरण गरिएको जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पूर्व रक्षा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामबचन यादवले आउने निर्वाचनमा मधेसी प्रधानमन्त्री बनाउनुपर्ने जोड दिँदै मधेसी प्रधानमन्त्री भए सम्पूर्ण मधेसीहरूको माग सम्बोधन हुने जाेड दिनुभयो ।
साथै पालीनन्दन एक महेशपुरमा रहेको सहिद जगदीश पासवानको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन समेत गरिएको केन्द्रीय सदस्य पुरनप्रसाद चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य मुन्नालाल गुप्ता,प्रदेश सदस्य विजयनाथ यादव, पाल्हिनन्दन अध्यक्ष पप्पु यादव,महेन्द्रकुमार यादव, मुन्नलाल गुप्ता, रामग्राम-४ का वडा सदस्य प्रभुलाल माैर्य लगायतले बोल्नुभएको जिल्ला सचिव यादवले जानकारी दिनुभयो ।






Comments